कर्णाली, ३१ साउन  । नेपाली भाषाको माउ भाषाकारुपमा परिचित जुम्ली खसभाषा अभिलेखिकरण गरिने भएको छ । यसका लागि स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण प्रक्रिया थालेको छ ।

खस भाषाको उद्गमस्थल जुम्लाको सिञ्जा उपत्यका मानिदै आएपनि अहिलेसम्म खसभाषा राष्ट्रिय भाषा आयोगमा दर्ता नभएपछि स्थानीय सरकारले समेत त्यसको अभिलेखीकरणको पहल थालेको हो । सिञ्जा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले खसभाषा आयोगमा लिपिवद्ध गर्न पहल अगाडि बढाइएको जानकारी दिनुभयो ।

अध्यक्ष धितालले आयोगको टोली जुम्लाको सिञ्जामा पुगेर पाँचवटा खस लिपिको मानक प्रमाणित गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरेको छ । “अब खसभाषाको लिपि भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्युटराइज्ड गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ”, अध्यक्ष धितालले भन्नुभयो, “स्थानीय तह र सरोकारवालको बैठक बसालेर थप छलफल गर्छौँ”, खसभाषा अभिलेखीकरणका लागि सिञ्जामै प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ ।

टुङ्गो लगाइयो स्वर र व्यञ्जन वर्ण

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खसभाषा अभिलेखीकरणका विषयमा आयोगले प्रथामिकता दिएको बताउनुभयो । स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा खसभाषा अभिलेखीकरण कार्य सुरु भएको उहाँले जनाउनुभयो । अध्यक्ष अवस्थीका अनुसार राष्ट्रपतिसमक्ष पेश गरिएको प्रतिवेदनमा समेत खसभाषा समेटेर पठाइएको र अन्य काम भइरहेको छ ।

अध्यक्ष अवस्थीले भन्नुभयो, “जुम्ली खसभाषालाई माउ भाषाका रुपमा लिन अलि कठिन छ किनकी यसको वर्ण नै लोप भएको छ, यद्यपि यो एउटै परिवारका भाषा भने भए । खस भाषामा पाँचवटा व्यञ्जन वर्ण बढी छ”, उहाँले भन्नुभयो, “जुम्ली भाषा र देवनागरी भाषाबीच फरक छ । पछिल्लो समयमा खसभाषा बोल्ने नागरिकहरुको सङ्ख्या पनि कम हुँदै जाँदा यो लोपोन्मुख अवस्थामा छ ।”

स्थानीय सरकारको स्वामित्व रहने गरी प्राविधिक पृष्ठपोषण आयोगले गरेको बताउँदै त्यसको दीगोपनका लागि व्यवस्थापन पक्ष स्थानीय सरकारमा नै निहित रहेको उहाँले बताउनुभयो । अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यञ्जन वर्णसमेत आयोगले तयार पारिसकेको छ ।

उहाँले वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारीसहितका जानकारहरुबाट सहयोग प्रदान भएको बताउनुभयो । तिवारीले रत्नाकर देवकोटाको पुस्तकमा पाइएका र गाउँपालिकाले निर्धारण गरेका तर आजसम्म लिपिवद्ध नभएका अक्षर अगाडि बढाइएको जनाउनुभयो ।

उहाँका अनुसार यस अघि सिञ्जामा भएको खसभाषाको वर्ण सत्यापन (प्रमाणीकरण) गोष्ठीमा कथ्यमा आएका तर लेख्य अभ्यासमा नआएका वर्णहरुको सत्यापन गरी भाषामा स्थापित गर्दै लैजाने निक्र्यौल भएको थियो । त्यसका लागि कार्य अघि बढेको तिवारीले बताउनुभयो । खसभाषाको लिपि र वर्ण तथा यसको बोलचाल एवं प्रयोगका विषयमा नेपाली भाषाविज्ञ डा.ओमप्रकाश आचार्य र खस भाषासेवी रमानन्द आचार्यसहितका भाषासम्बन्धी विज्ञ एवं जानकारबाट सहयोग लिइएको उहाँले बताउनुभयो । आचार्यले खसभाषाको शब्दकोष निर्माणमा धेरै ठूलो मेहेनत गर्नुभएको बताउँदै उक्त शब्दकोष आयोगले प्रकाशन गर्ने सझौता भएको जनाइएको छ ।

भाषासेवी आचार्यले खस शब्दहरु डेढ दशकदेखि सङ्कलन तथा लेखन गरी करिब ३५ हजार शब्द सम्मिलित खसभाषाको खसिया आखर नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश तयार गरिरहनुभएको छ । यो प्रकाशनोन्मुख अवस्थामा रहेको भाषासेवी आचार्यले बताउनुभयो ।

अध्यक्ष अवस्थीले ‘खस भाषाको उत्थान र विकास’का लागि ढिला गर्न नहुने भन्दै यसमा सबैलाई साथ सहयोग दिन अनुरोध गर्नुभएको छ । भाषिकाको रुपमा व्यवहार गरिएको नेपालको मूल खसभाषाको संरक्षणका लागि जुम्लामा विगत दुई वर्ष खस राष्ट्रिय सम्मेलन, विभिन्न कार्यशालाहरु सञ्चालन हुँदै आएको छ । —

प्रतिक्रिया

सम्बन्धित खवर