काठमाडौँ, ८ असारगणेशमान सिंह फाउण्डेशनले प्रजातन्त्र स्थापना, पुनःस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेका ११ जनालाई सम्मान गरेको छ ।

फाउण्डेशनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज प्रजातन्त्र स्थापनमा गणेशमान सिंहसँग सहयात्रा गर्र्ने ११ प्रजातन्त्र सेनानीलाई रु २५ हजार नगद, प्रशंसापत्र र दोसल्लाद्वारा सम्मान गरेको हो । सम्मानित हुनेमा ध्यानगोविन्द रञ्जित (ललितपुर), हिमालयशम्शेर राणा (काठमाडौँ), मनज्ञ लाकोल (काठमाडौँ), डा दिनेशनाथ गंगोल (काठमाडौँ), योगप्रसाद उपाध्याय (काठमाडौँ), हरिनाथ बाँस्तोला (सुनसरी), स्व चम्पा थारु (कैलाली), स्व गणेश कर्माचार्य (बाँके), दिलीप सापकोटा (मोरङ), पूर्णानन्द शर्मा (तेह्रथुम) र नारायणप्रसाद भट्टराई (पाँचथर) रहनुभएको छ ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं कांग्रेस नेता प्रकाशमान सिंहले स्व गणेशमान सिंहको इतिहासलाई जीवन्त राख्नका लागि फाउण्डेशनले काम गर्दै आएको बताउनुभयो । “जनताको गुमेको अधिकार जनतामाझ ल्याउनका लागि स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो ।

नेता सिंहले स्व गणेशमान सिंहको व्यक्तित्वबारे फाउण्डेशनले विभिन्न पुस्तक प्रकाशन, लेख रचना प्रकाशन, विचार प्रकाशन र कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले गणेशमान सिंहले प्रजातन्त्रका लागि गरेको योगदान आमजनतामाझ लैजान फाउण्डेशनले काम गर्नुपर्ने बताउनुभयो ।

सम्मानित व्यक्ति हिमालय शम्शेर राणा, मनज्ञ लाकोल, हरिनाथ बाँस्तोलालगायतले मुलुकमा जनताको अधिकार स्थापित गर्न सर्वोच्च नेता गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको भन्दै गणेशमानको योगदान नयाँ पुस्तामा चिनाउनुपर्ने बताउनुभयो ।

गणेशमान सिंह फाउण्डेशनका महासचिव घनेन्द्रपुरुष ढकालले फाउण्डेशनले नेपालको प्रजातन्त्र स्थापनका लागि गणेशमान सिंहसँगै योगदान गरेका विभिन्न व्यक्तिलाई विभिन्न समयमा फाउण्डेशनले सम्मान गर्दै आएको बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर