महेन्द्रनगर, २ असार । चीनमा हुने १९आँैै एशियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय महिला कबड्डी टिमले कञ्चनपुरको महेन्द्रनगरमा विशेष प्रशिक्षण सुरु गरेको छ ।

यहाँस्थित कभर्डहल परिसरमा रहेको जिल्ला कबड्डी सङ्घको आधुनिक कबड्डी प्रशिक्षण केन्द्रमा राष्ट्रिय महिला कबड्डी टिम एक महिना विशेष प्रशिक्षणमा रहने कबड्डीका मुख्य प्रशिक्षण विष्णुदत्त भट्टले जानकारी दिनुभयो ।

सन् २०२३ मा हुने भनिएको एशियालीका लागि महिला कबड्डीतर्फ हाल २४ खेलाडीलाई मुख्य प्रशिक्षकसहित दुई सहायक प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । “प्रशिक्षण प्रभावकारी बनाउन सबै खेलाडीलाई एक ठाउँमा राखेर विशेष प्रशिक्षण सुरु गरेका छौँ”, मुख्य प्रशिक्षक भट्टले भन्नुभयो, “असारको तेस्रो सातापछि पहिलो चरणको छनोट हुनेछ ।”

राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग र यहाँस्थित जिल्ला कबड्डी सङ्घको सहयोगमा अहिले विशेष प्रशिक्षणमा रहेका महिला खेलाडी कबड्डी प्रशिक्षण केन्द्रको आवासमा आश्रय लिइरहेका छन् ।

“यहाँ प्रशिक्षण केन्द्रमै खानपिन र बसोबासको व्यवस्थापन गरिएको छ”, उहाँले भन्नुभयो, “यो स्तरको विशेष प्रशिक्षण सम्भवतः यहाँ पहिलोपटक नै हो ।” यहाँ प्रशिक्षणमा रहेकामध्येबाट अन्तिममा छनोट हुने १२ महिला कबड्डी खेलाडी एशियाली खेलकुदमा सहभागी हुनेछन् ।

यसैगरी आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने कबड्डी खेलाडीलाई पनि अहिलेको विशेष प्रशिक्षणमा समावेश गरिने मुख्य प्रशिक्षक भट्टको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर