कलैया, ६ जेठ । बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
नगरप्रमुखमा रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित हुनुभएको हो । चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० बढी मतान्तरले हराउनुभएको हो । चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याउनुभयो ।
यस्तै उपप्रमुखमा एमालेकी सुनैना थरुनीलाई ६०० बढी मतले पराजित गर्दै कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले जित हासिल गर्र्नुभएको छ । लक्ष्मीले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ मा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र एमालेकै थरुनी निर्वाचित हुनुभएको थियो ।
धनुषाको नगराइन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले
धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिनुभयो ।
यसैगरी उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गर्नुभएको छ ।
–––
