काठमाडौँ, साउन ९ गते । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी आज साँझ भोटेकोसी नदीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ । रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका –३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौँ ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका –५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्र नजिक भोटेकोसीमा खसेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।
घटनाको सूचना पाउनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको छ । भौगोलिक असहजतालाई प्रवाह नगरी खोजीकार्य तीव्र रूपमा भइरहेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।
