मङ्गलबारे, ४ जेठ । इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा कांग्रेसका केदार थापा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

कांग्रेसका उम्मेदवार थापाले १३ हजार ११५ मत प्राप्त गर्दै विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धीरेन चेम्जोङले १० हजार ५८७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गर्नुभयो । उहाँले १३ हजार ५४२ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

प्रतिस्पर्धी एमालेकी उम्मेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गर्नुभयो । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो ।

इलाम नगरपालिकामा जम्मा १२ वटा वडा छन् । नौ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीन वटा वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

सुनसरीको भोक्राहामा कांग्रेस विजयी

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीका सुनिता उराँव निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः चार हजार ६०६ र तीन हजार ९७४ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित अजमलका प्रतिद्वन्द्वी नेकपा (एमाल)ेका उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले तीन हजार २७१ मत र
निर्वाचित उपाध्यक्ष उराँवकी प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका उपाध्यक्ष पुनमकुमारी मेहताले दुई हजार ६१८ मत प्राप्त गर्नुभएको थियो ।

भोक्राहा नरसिंह –१ मा राप्रपाका लक्ष्मण मेहता, वडा नम्बर–२ मा न कांग्रेसका आलम अन्सारी, वडा नम्बर–३ मा नेकपा (एकीकृत समाजवादी)का धीरेन्द्रकुमार यादव, वडा नम्बर–४ मा कांग्रेसका हारुन अन्सारी, वडा नम्बर–५ मा राप्रपाका हविव मंसुरी, वडा नम्बर–६ मा कांग्रेसका सराजुद्धिन अन्सारी, वडा नम्बर–७ मा राप्रपाका बौवालाल यादव र वडा नम्बर–८ मा कांग्रेसका हाजी उसमान मियाँको प्यानल विजयी भएका छन् ।
–––

–––

प्रतिक्रिया

सम्बन्धित खवर