भक्तपुर, ४ जेठ । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।
नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गर्नुभयो । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोग्नुभएकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो ।
त्यसैगरी उपप्रमुखमा एमालेकै रमेश बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी हुनुभयो भने कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गर्नुभयो । नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गर्नुभयो भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिनुभएका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गर्नुभयो ।
त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी हुनुभएको छ ।
जैमिनी नगरप्रमुखमा जनमोर्चाका पुन र उपप्रमुखमा कांगे्रसका शर्मा विजयी
बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा सत्तारुढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी हुनुभएको छ । पुनले आठ हजार ७५५ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखका उम्मेदवार नेकपा (एमाले)का लीला रानाले दुई हजार ८७३ मत प्राप्त गर्नुभएको छ । पुनले रानालाई पाँच हजार ८८२ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको छ ।
नगरउपप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हरिहर शर्माले विजयी हुनुभएको छ । शर्माले नौ हजार १७३ मत प्राप्त गर्दा एमलेका उषा पौडेलले दुई हजार ६३६ मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको वडा नं १ को अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद आचार्य, २ मा प्रेम सापकोटा विजयी हुनुभएको छ ।
वडा नं ३ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर भुजेल, वडा नं ४ मा नेकपा (एकीकृत समाजवादी)का चक्रबहादुर थापा, ५ मा कांग्रेसका ठगबहादुर क्षेत्री, वडा नं ६ मा माओवादी केन्द्रका कृष्ण थापा, वडा नं ७ मा कांग्रेसका केन्द्र रसाइली, वडा नं ८ मा विमल श्रीष, वडा नं ९ मा एमालेका सन्दीप थापा र वडा नं १० मा राष्ट्रिय जनमोर्चाका श्रीप्रसाद थापा विजयी हुनुभएको छ ।
