वालिङ, ४ जेठ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी हुनुभएको छ । अध्यक्षमा विजयी हुनुभएका तिवारीले नेकपा (एमाले)का चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पार्नुभएको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिनुभयो ।
तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याउनुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी हुनुभएको थियो । त्यस्तै उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी हुनुभएको छ । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गर्नुभएको हो । गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गर्नुभयो ।
छवटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको १, २, ३, ४, ५ नं वडामा कांग्रेस, वडा नं ६ मा एमाले विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । कूल १३ हजार ८६७ मतदाता रहेको अर्जुनचौपारीमा ६५.८१ प्रतिशत मत खसेको थियो । पुरुष चार हजार १९८ र चार हजार ९२८ महिला गरी कूल नौ हजार १२६ मत खसेको थियो ।
तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
सप्तरीको तिरहुत गाउँपालिकामा जसपालाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाको तिरहुत गाउँपालिका अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ५५६ मत ल्याएर सो गाउँपालिकामा विजयी हुनुभयो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हेमन्तकुमार बहडखेर यादवले दुई हजार ९८६ मतमात्र ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेसकै विनादेवी गोइत यादव निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ५१ मत ल्याउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकै उपाध्यक्षका उमेदवार रामवतीदेवी मण्डलले तीन हजार २० मत ल्याउनुभएको छ ।
डुडुवाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित हुनुभएको डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडवरीले जानकारी दिनुभयो । चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादवले पाँच हजार १२५ मत पाउँदा एमालेका उम्मेदवारले तीन हजार ७१९ मत पाउनुभएको थियो । उपाध्यक्षमा कांग्रेसका साहिदा बानोले निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसापा)की तरन्नुम बानोले चार हजार ७५४ मत पाउँदा एमालेका उम्मेदवारले चार हजार १५८ मत पाउनुभएको थियो ।
छवटा वडा रहेको सो गाउँपालिकामा एक वडा कांग्रेस, तीन वडा जसपा र दुई वडा एमालेले जितेको छ । यसअघि राप्ती सोनारी गाउँपालिका पनि कांग्रेसले जितेको थियो । बाँकेका ८१ वडामध्ये अहिलेसम्म ३३ वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये एमालेले नौ, नेकपा (माओवादी केन्द्र)ले नौ, कांग्रेसले आठ, जसपाले पाँच र राप्रपाले दुई वडा जितेको छ ।
गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी
सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख–उपप्रमुख पदमा पुनः कांगे्रस उम्मदेवार दोहोरिएका छन् । कांगे्रसका प्रमुख पदका उम्मेदवार हस्त पुनले नेकपा (एमाले)का तिलक खत्रीलाई एक हजार ७९२ मत पराजित गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पुनले ११ हजार ९७८ र उहाँका निकटतम् प्रतिद्वन्द्वी खत्रीले १० हजार १८६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा मैना विकले ११ हजार ७४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला विश्वकर्माले १० हजार २९९ मत प्राप्त गर्नुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पुन र विक प्रमुख–उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।
लेकबेँसी नगरपालिकाको प्रमुखमा कांगे्रसका उमेशकुमार पौडेल र उपप्रमुख पदमा एमालेका विमला खड्लुक विजयी हुनुभएको छ । एमालेका देवबहादुर रानालाई २६५ मतान्तरले पराजित गर्दै पौडेलले छ हजार ६३९ मत ल्याएर विजयी हुनुभएको हो । रानाले छ हजार ३७४ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा विजयी एमाले उम्मेदवार खड्लुकले छ हजार १०९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) देउकली थापामगरले पाँच हजार ४४० मत प्राप्त गर्नुभयो । यहाँ प्रमुख–उपप्रमुख पदमा कांगे्रस र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । विसं २०७४ को निर्वाचनमा लेकबेँसी नगरपालिकाको प्रमुख–उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको थियो ।
सुर्खेतका नौमध्ये चार स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी छ । सिम्ता गाउँपालिका, भेरीगङ्गा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकामा मतगणना जारी छ । पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा कांगे्रस तथा चिङ्गाड गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएको घोषणा भइसकेको छ । त्यहाँको निर्वाचन मतपरिणाम मङगलबार सार्वजनिक भएको थियो ।
–––
