काठमाडौँ, ४ जेठ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रमेश नापित विजयी हुनुभएको छ । नापितले चार हजार ७०० मत पाउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो ।

नेकपा (एमाले)का कृष्णलाल बजगाईँले तीन हजार ६२२ मत पाउनुभयो । नेकपा (माओवादी केन्द्र)का मधु केसी नीरजले दुई हजार २२२ मत पाउनुभएको उहाँले बताउनुभयो । जनता समाजवादी पार्टीले भने ९२ मत मात्र प्राप्त गरेको थियो । विसं २०७४ को निर्वाचनमा राजधानीमा राप्रपाले स्थानीय तहको प्रमुखमै जीत हासिल गर्न सकेको थिएन ।

उपप्रमुखमा कांग्रेस

उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठ विजयी हुनुभयो । उहाँले छ हजार ३६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले तीन हजार २९८ मत पाउनुभयो । शङ्खरापुरमा कांग्रेस र समाजवादीको गठबन्धन थियो ।

वडाध्यक्षमा क्रमशः १ बाट एमालेका बाबुराम दङ्गाल, २ मा कांग्रेसका रनबहादुर तामाङ, ३ मा राप्रपाका सूर्य तामाङ, ४ मा कांग्रेसका सोनाम तामाङ, ५ मा एमालेका शेरगम्भीर थापा, ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ, वडा नं ७ पनि राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ, ८ मा कांग्रेसका पोते थिङ र वडा नं ९ मा पनि कांग्रेसकै सहदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँचवटा वडा पनि एमालेले जितेको थियो ।

हल्दिबारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमै राप्रपा निर्वाचित

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रबिन्द्र  लिङ्देन पुनः निर्वाचित हुनुभएको छ । उहाँले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्र्र्दै विजयी बन्नुभएको हो ।

उहाँले कूल मतको छ हजार ८५६ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याउनुभएको छ । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित हुनुभएको छ । मैनालीले पाँच हजार ७८ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याउनुभएको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर