काठमाडौँ, ४ जेठ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारी निर्वाचित हुनुभएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थापाले १० हजार १६६ मत प्राप्त गर्नुभएको टोखाका निर्वाचन अधिकृत सविता शर्माले राससलाई जानकारी दिनुभयो । अधिकारी र थापाको मतान्तर १७४ रहेको थियो ।
यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित हुनुभएको छ । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा पराजित डङ्गोल अघिल्लो कार्यकालमा टोखाको उपप्रमुख हुनुहुन्थ्यो । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।
कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित हुनुभएको छ । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी हुनुभएको थियो ।
पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजय बन्नुभएको छ । उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गर्नुभएको छ । उहाँले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गर्नुभएको हो । मञ्जु यसअघि नगरउपप्रमुख हुनुहुन्थ्यो ।
–––
