डोटी, ३ जेठ । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहनुभएकी कलावती महर (साउद) निर्वाचित हुनुभएका छ । विगत २५ वर्षपछि नेपाली कांग्रेसले यो नगरपालिकामा विजयी हुन सफल भएको हो ।

नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का खगेन्द्रबहादुर साउद (केबी) ले एक हजार ९८३ मत प्राप्त गर्नुभएको छ । राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बन्नुभएका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बन्नुभएकी कलावती महर (साउद) ले चार हजार ७६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा (एकीकृत समाजवादी) का ऐश्वर्या भण्डारी (विष्ट) ले ५७८ मत प्राप्त गर्नुभएको छ ।

सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली कांग्र्रेसका उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाउनुभएको छ । चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले ९०१ मत पाउनुभएको छ । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकै मनकला राई विजयी हुनुभएको छ । उपाध्यक्ष राईले एक हजार ८५४ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाउनुभएको छ । यसअघि चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।

बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी

बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार जमानसिं केसी सात हजार ६९८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारुले छ हजार ६२० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेसका लक्ष्मीकुमारी चौधरी सात हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम माओवादी केन्द्रका लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर