नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो ।

गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरुको पनि खत्तम हुन्छ । कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन”, उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएका प्रमुख पदका उम्मेदवार रेनु दाहालले यस अघिका कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै गठबन्धनका पक्षमा लाग्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँलाई जिताउनुहोस्, १०÷२० वर्ष गठबन्धन टिक्छ ।” सभापति देउवाले थप्नुभयो, “उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरुले बखेडा गर्नु आवश्यक छैन ।”

आफूले पार्टीमा ८२ प्रतिशत मत लिएर सभापति जितेको भन्दै उहाँले भन्नुभयो, “यो मत जनप्रतिनिधिको मत हो । नेपाली जनताले गठबन्धनप्रति समर्थन भएर मैले जितेको हुँ । होइन भने मैले कहाँ जित्थे ।” उहाँले गठबन्धनप्रति मेचीमहाकालीका जनताको भरोसा भएर नै पार्टीका साथी लागेर सभापति जितेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “जनताले चुनेर आएका पार्टीका साथीहरुको भोटले पार्टी सभापति भएको हुँ ।”

उहाँले भन्नुभयो, “नेपाली जनता र तिनका प्रतिनिधिले दुई तिहाईभन्दा बढी भोटले जिताउनुभयो । यो स्पष्ट हुन्छ, नेपाली जनता गठबन्धनप्रति विश्वस्त भएर मैले जितेको हुँ ।” सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले जोड दिँदै भन्नुभयो, “चितवनका साथीहरुको कर्तव्य छ । रेनु दाहाललाई सहयोग गर्नुपर्छ ।” भरतपुरको विकास भएको भन्दै उहाँले भन्नुभयो, “ठाउँठाउँमा कालोपत्रे भएको छ । यहाँको भाउ बढेको छ । स्मार्टसिटी बनाउने भन्नुभएको छ रु”

भरतपुरमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रियस्तरको सभाहल र विमानस्थल दाहालको पहलमा बन्न लागेको भन्दै उहाँले विकासप्रेमी नेतालाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महत्वपूर्ण ठाउँ बन्ने छ । संसारका पर्यटक आउनेछन् । क्रिकट हेर्न संसारभरिका मानिस आउँछन् । काम गर्ने मान्छे नभए को हुन्छ रु” भरतपुर महानगरमा दाहालको नेतृत्वको जनप्रतिनिधिले बेरुजु शून्य बनाएको उहाँको भनाइ छ ।

समिारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताउनुभएको हो ।

गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उहाँले भन्नुभयो, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ ।” तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०÷२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिबद्धता थियो । उहाँले विसं २०४६ देखि कम्युनिष्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।” उहाँले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनुभयो । “यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०÷२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ ।”

उहाँले यसअघिको निर्वाचनमा सोचे अनुरुपको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याउनुभयो । गठबन्धन कम्युनिष्ट पार्टीहरुसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ, तपाईहरुको साथ र सहयोग भयो भने यो निरन्तर अघि बढ्छ ।” यो प्राकृतिक गठबन्धन भएको भन्दै उहाँले वृहत शान्ति सम्झौतामा सहभागी भएका दलहरुबीचमा गठबन्धन भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर