काठमाण्डौं, २४ चैत । सरकारले चीन, दक्षिण कोरिया, दक्षिण अफ्रिका लगायत २० देशका लागि नेपाली राजदूत नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो । निर्णय अनुसार त्यसमा ८ जना परराष्ट्र सेवा र १२ जना राजनीतिक र अन्य क्षेत्रका व्यक्ति हुनुहुन्छ ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय समितिमा सुनुवाइ हुने र त्यहाँबाट नाम अनुमोदन भई सम्बन्धित देशको सहमति प्रप्त भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।

निर्णयबारे एक मन्त्रीले दिएको जानकारी अनुसार चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङको नाम सिफारिस गरिएको छ ।

चीनका लागि सिफारिस श्रेष्ठ नेकमा माओवादीका नेता हुनुहुन्छ भने दक्षिण कोरियका लागि सिफारिस ज्योति प्याकुरेल काँग्रेस निकट हुनुहुन्छ ।

त्यस्तै राजदूतको लागि सिफारिस अन्य व्यक्तिमा स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रुसका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल, डेनमार्कका लागि प्रा.डा. रामसुरज राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी हुनुहुन्छ ।

त्यसैगरी बाहिरबाटै नरेशविक्रम ढकाल नाम पनि राजदूतमा सिफारिस भएको छ ।

यता परराष्ट्र मन्त्रालयका ८ कर्मचारीहरुमा घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर