काठमाण्डौं, २४ चैत । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पद तथा गोपनियताको शपथ लिनुभएको छ । शपथ लिएलगत्तै मन्त्री बन्दीले आजै आफ्नो कार्यभार समाल्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री बन्दीलाई आज राष्ट्रपति निवास शितलनिवासमा शपथ दिलाउनुभएको हो ।
प्रधानमन्त्री देउवाले बन्दीलाई आजै कानून मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि कानून मन्त्रालयको कार्यभार सम्हाली रहनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडुलाई आजै उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नव नियुक्त मन्त्री बन्दी वरिष्ठ अधिवक्ता हुनुहुन्छ । सांसद हुनुहुन्न । सांसद नभएको व्यक्ति छ महीना मात्र मन्त्रीमा रहन पाउने संवैधानिक व्यसस्था छ । सो अवधि भित्र सांसद भएमा मन्त्री पदमा रहिरहन पाइन्छ ।
मन्त्री बन्दी माधवकुमार नेपालको नातेदार पर्नुहुन्छ । उहाँले एमसिसी परियोजना संसदबाट पारित गराउन कानूनी परामर्श दिदै एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा तयार गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
