काठमाण्डौं, १८ चैत ।  प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने भ्रमणका लागि आज शुक्रबार दिउँसो भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । प्रम देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत जानुभएको हो ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उहाँकी पत्नी आरजु राणा, चार जना मन्त्री, उच्च पदस्थ कर्मचारी, उद्योगी/व्यापारी र पत्रकारहरू रहेका छन् ।

यो भ्रमण टोली नेपाल एयरलाइन्सको विमानमार्फत भारतको राजधानी नयाँदिल्ली गएको हो । भ्रमण तिन दिनको छ ।

प्रम देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतले बिदाई गर्नुभएको थियो ।

प्रधानमन्त्रीसँगै भारत जाने मन्त्रीहरूमा नारायण खड्का (परराष्ट्र), विरोध खतिवडा, (स्वास्थ्य)मन्त्री पम्फा भुसाल (ऊर्जा) र महेन्द्र राय यादव (कृषि) हुनुहुन्छ ।

प्रधानमन्त्री देउवासँग आजै अपरान्ह साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमण टोली नयाँदिल्ली चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछ । त्यहीँ प्रम देउवासित भारतीय विदेशमन्त्री जयशंकरले भेट गर्नुहुनेछ ।

प्रम देउवाको स्वागतमा दिल्लीस्थित नेपाली दूतावासले आजै रात्रिभोजको कर्यक्रम राखेको छ । त्यसमा सामेल भएर प्रम देउवाले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधि र दूतावासका कर्मचारीलाई सम्बोधन गर्नुहुनेछ ।

यसअघि प्रम देउवा त्यहाँको सत्तारुढ पार्टी भाजपाको केन्द्रीय कार्यालय जने र नेताहरूसित भेटघाट गर्ने कार्यक्रम छ ।

भ्रमणको दोस्रो दिन भोलि शनिबार बिहान १० : ४० मा प्रम देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस जनु हुनेछ। त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । त्यहीबाट संयुक्त वक्तव्य जारी हुनेछ ।

यो भ्रमणमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रम देउवाको भेट हुने छैन । राष्ट्रपति रामनाथ कोविन्द पूर्वनिर्धारित कार्यक्रमअनुसार अप्रिल १ देखि ७ तारिखसम्म विदेश यात्रामा रहने भएकाले उहाँसित देउवाको भेट नहुने भएको हो ।

त्यसैले उपराष्ट्रपतिसँग प्रमदेउवाको भेटघाटको कर्यक्रम राखिएको छ । सो अनुसार शनिबारै अपराह्न साढे ४ बजे प्रम देउवाले भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नु हुनेछ।

त्यही साँझ होटलमा भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा प्रधानमन्त्री देउवा सहभागी हुनु हुनेछ।

प्रधानमन्त्रीसहितको यो भ्रमण टोली तेस्रो दिन आइतबार बिहानै बनारसका लागि प्रस्थान गर्ने र त्यताबाट दिल्ली फर्की सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडौं फिर्ता हुनेछ  ।

प्रतिक्रिया

सम्बन्धित खवर