काठमाडौँ, १२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्वोद्धन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको र यसको नेतृत्व कांग्रेसले गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले सबै नागरिलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार सफल भएको छ भन्नुभयो । उहाँले संविधानको रक्षा र कार्यान्वयनमा सहयोग गर्न सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न स्थानीय तहको निर्वाचनामा कांग्रेसले गठबन्धन बिना नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा पछिल्लो समय व्यापार घाटा बढिरहेकाले त्यसलाई कम गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
यस अघि ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताउनुभएको हो ।
अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै उहाँले भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताउनुभयो । उहाँले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा नीजि क्षेत्रको सहयोग पनि अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा कम्तीमा पनि २० प्रतिशत बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै नेपालको चिकित्सा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सम्बन्धीत सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गर्ने विभिन्न विधाका कर्मचारीलाई सम्मान गरिएको थियो । सभाले नयाँ कार्यसमिति तय गर्नेछ ।
–––
