काठमाडौ, ८ फागुन । सरकारले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएपछि अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् ।
पर्यटन विभागका अनुसार हालसम्म कम्तिमा पनि १७ कम्पनीले रोयल्टी तिर्नु पर्ने बक्यौता बुझाएका छन् ।
सेन्ट्रल मिडिया प्रालिले रु पाँच करोडमध्ये रु चार करोड बक्यौता बुझाएसँगै हाल सम्म सरकारको खातामा रु ७६ करोड ४५ लाख राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताउनुभयो ।
उहाँका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरुले तिर्नुपर्ने जम्मा रकम रु एक अर्ब ११ करोड ८४ लाख ४७ हजार मात्रै रहेको छ ।
विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ ।
अब छ कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर रु १४ करोड बाँकी रहेको र उक्त होटलको बैंक जमानत रहेकाले असुलउपर गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिनुभयो ।
यसैगरी सेन्ट्रल मिडिया प्रालिले रु १८ करोड ९० लाख, ह्याप्पी आवर प्रालि, होटल याक एन्ड यति (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा रु एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ ।
