नयाँ दिल्ली, ५ माघ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् ।
भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ७९ लाख १ हजार २४१ रहेको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १८ लाख ३१ हजार रहेको छ ।
हाल रहेका सक्रिय सङ्क्रमित मध्ये आठ हजार ९६१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनभाइरसबाट अघिल्लो दिनको तुलनामा बुधबार सङ्क्रमितहरुको सङ्ख्या ०।७९ प्रतिशत बढी रहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ८८ हजार १५७ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५५ लाख ८३ हजार ३९ पुगेको छ ।
यहाँ कोरोना भाइरस निको हुने दर ९३।८८ प्रतिशत रहेको जनाइएको छ ।
पछिल्लो एक दिनमा ४४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार २०२ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ७४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ८८ लाख ४७ हजार भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । एएनआई
