काठमाडौ, १३ पुस । पछिल्ला दुई दिनमा अमेरिकामा दैनिक दुई लाखभन्दा बढी ओमिक्रोन सङ्क्रमणका घटना देखा परेका छन्

अमेरिकाले लक्षण नदेखिएका कोरोनाभाइरस सङ्क्रमितले एक्लिएर बिताउनुपर्ने अवधिलाई दश दिनबाट घटाएर पाँच दिन कायम गरेको छ।

सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिन मास्क लगाउन सुझाव दिएको छ।

अहिलेका नयाँ सुझावहरू बाध्यकारी छैनन्, तर त्यसलाई अमेरिकाका कैयौँ व्यापारिक समुदाय र नीति निर्माताहरूले नजिकबाट हेरिरहेका छन्।

कोभिड सङ्क्रमणमा वृद्धि भएर अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा आएको हो।

ओमिक्रोन भेरिअन्टले अस्पतालमा भिडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति बाइडनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन्।

ओमिक्रोन नियन्त्रण गर्न खोपको तीन मात्रा आवश्यक
सीडीसीले विज्ञानमा आधारित रहेरै अहिलेको परिवर्तन सिफारिस गरिएको भन्दै अधिकांश सङ्क्रमण प्रारम्भिक अवस्थाका बिरामीबाट सर्ने गरेको बताएको छ।

उसले कोभिड सङ्क्रमण भएका तर खोप नलगाएका वा बुस्टर खोप लगाउन बाँकी रहेका व्यक्तिहरूबारेका आफ्ना सुझावलाई पनि अद्यावधिक गरेको छ।

यस्ता समूहहरूले पाँच दिन क्वारन्टीनमा बस्नुपर्ने र अर्को पाँच दिन कडाइपूर्वक मास्क प्रयोग गर्नुपर्ने उसको भनाइ छ।

बुस्टर खोप लगाएका व्यक्तिहरूले सङ्क्रमितसँग सम्पर्कमा पुगेपनि क्वारन्टीनमा बस्नुनपर्ने तर निरन्तर १० दिन मास्क लगाउनुपर्ने सुझावमा उल्लेख छ।

पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताउनुभयो ।

यसअघि सोमवार राष्ट्रपति बाइडनले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चुनौती देखिए सङ्घीय सहयोगका लागि अनुरोध गर्न गभर्नरहरूलाई अनुरोध गर्नुभएको थियो ।
एउटा अनलाइन बैठकमा उहाँले केही अस्पतालहरूमा भिड हुनसक्ने भएपनि अमेरिकीहरूले आत्तिनु नपर्ने बताउनुभएको थियो । ।

हाल अमेरिकामा ओमिक्रोन सबैभन्दा सक्रिय प्रकारको भेरिअन्टका रूपमा देखिएको छ र त्यहाँ पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन्।

विभिन्न शहर र स्थानीय अधिकारीहरूले बढ्दो सङ्क्रमणको नियन्त्रणका लागि नयाँ कदमहरू चालिरहेका छन्।

उदाहरणका लागि न्यूयोर्क शहरमा निजी क्षेत्रमा काम गर्नेहरूका लागि नयाँ खोपसम्बन्धी सर्तहरू कायम गरिएको छ।

फ्रान्समा अझ कडाइ
फ्रान्स ओमिक्रोन भेरिअन्टका कारण प्रतिबन्धहरूमा कडाइ गर्ने पछिल्लो युरोपेली देश बनेको छ।

कर्फ्यु वा लकडाउन नलगाइए पनि शहरको केन्द्रमा सबै जनालाई मास्कहरू लगाउन अनिवार्य बनाइएको छ।

कर्मचारीहरूलाई कम्तीमा तीन दिन घरबाटै काम गर्न भनिएको छ।

फ्रान्सका प्रधानमन्त्री जँन कस्टिक्सले यो महामारी अन्त्यहीन चलचित्र जस्तो महसुस भइरहेको बताउनुभयो ।

धेरै जनाले खोप लगाइसकेकाले फ्रान्स विश्वकै सुरक्षित देश भएको उहाँको भनाइ छ।

पछिल्लो व्यवस्थामा ठूला भेलाहरूलाई सीमित बनाइएको छ र लामो दूरीका यातायात खान र पिउन प्रतिबन्ध लगाइएको छ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर