काठमाडौँ, ५ पुस ।  सङ्घीय सरकारले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न राखेको प्रतिबद्धतालाई लक्षित वर्गसमक्ष पु¥याउन प्रदेश सरकारका मुख्यमन्त्रीहरूले खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीसँगको भर्चुअल अन्तरक्रियामा मुख्यमन्त्रीले आवश्यकताअनुसार सङ्घीय सरकारले प्रदेशमा खोप पर्याप्त मात्रामा पठाएको र त्यसका लागि चाहिने जनशक्तिको चाँजोपाजो पनि गरिएकाले चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाउने घोषित लक्ष्यलाई पूरा गर्न सक्रियतापूर्वक लाग्ने विश्वास दिलाउनुभयो ।

साथै उहाँहरुले खोप अभियानलाई आवश्यक खोप तथा अपुग जनशक्ति र स्रोत साधनको व्यवस्थापनमा सहजीकरण गरिदिन पनि सङ्घीय सरकारलाई अनुरोध गर्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले खोप अभियानलाई सार्थक बनाउन प्रदेश सरकारले आवश्यक जनशक्ति र स्रोत साधन जुटाएर पूर्णक्षमताका साथ दैनिक खोप लगाइरहेको बताउनुभयो । उहाँले प्रदेश नं १ मा ५३ प्रतिशत पहिलो मात्रा र ४८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले खुला सीमा भएकाले प्रदेशमा महामारी बढ्नसक्ने जोखिमलाई मध्यनजर गरी आवश्यक जनशक्ति तैनाथ गरी सङ्घीय सरकारले राखेको लक्ष्यलाई पूरा गर्न सम्पूर्ण जनशक्ति तदारुकताका साथ लाग्ने विश्वास दिलाउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बृहत्रूपमा खोप कार्यक्रमलाई कसरी अघि बढाउन सकिन्छ भनेर प्रदेश–२ प्रभावकारीरूपमा लागेको बताउनुभयो । उहाँले प्रदेश–२ मा ४१.५ प्रतिशतले पहिलो मात्रा र ३३.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सङ्घीय सरकारले सहज तरिकाले कोभिड विरुद्धको खोप उपलब्धता गराएकाले घोषित लक्ष्यमा पुग्न थप खोप लगाउने कार्यलाई तीव्रताका साथ अघि बढाइने बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा हालसम्म ८८.४ प्रतिशतले पहिलो मात्रा र ६६.२ प्रतिशतले पूर्णमात्रामा खोप लगाइसकेको जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रदेशमा कूल जनसङख्याको ७७ प्रतिशतले कोभिड विरुद्धको पहिलो मात्रा र ४० प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको जानकारी दिनुभयो । उहाँले अहिले दैनिक ४५ हजारले खोप लगाइरहेको र आगामी दिनमा थप ३४ लाख मात्रा खोप आवश्यक भएको बताउनुभयो । प्रदेशमा पर्याप्त मात्रामा खोप आइरहेकाले चैतसम्मको लक्ष्यमा पुग्न कुनै समस्या नहुने बताउनुभयो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री प्र्रदीपकुमार कटुवालले बागमती प्रदेशमा ६० प्रतिशत मात्रा पूर्णखोप लगाइसकेको जानकारी दिनुभयो । उहाँले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई प्रोत्साहन र जोखिम भत्ता उपलब्ध गराउने कार्यक्रम ल्याउन जरुरी भएको बताउनुभयो ।

सङ्घीय सरकारले पुस मसान्तसम्म ६६ प्रतिशत र चैत मसान्तभित्र शतप्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

मुख्यसचिव शङ्करदास बैरागीले कोभिड महामारी नियन्त्रण गर्ने एक मात्र उपाय कोभिड विरुद्धको खोप भएकाले आम नागरिकलाई पूर्णमात्रामा खोप लगाउने कार्यमा सक्रियतापूर्वक लाग्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । उहाँले कोभिडको नयाँ भेरियन्ट देखा परेकाले यसबाट बच्न खोप अभियानलाई प्रभावकारी बनाइनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिडबाट नागरिकलाई बचाउन खोपबाहेक हामीसँग अरु विकल्प छैन । तसर्थ आगामी दिनमा सङ्घीय सरकारको समन्वयमा सबै प्रदेशमा खोप अभियानलाई अझ सशक्त र प्रभावकारीरूपमा अघि बढाउन जरुरी छ ।”

हाल मुलुकमा ९३ लाख खोप मौज्दात रहेको छ । कूल जनसङ्ख्याको ६० प्रतिशतले पहिलो र ४५ प्रतिशतले पूर्णमात्रामा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ । मन्त्रालयका सचिव रोशन पोखरेलले असोजसम्म ३३ र पुस मसान्तसम्म ६६ प्रतिशत लक्ष्यमा पुग्नेगरी खोप अभियान सञ्चालन भइरहेको तथा चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन सरोकारवाला निकाय सक्रियपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले औसत दैनिक दुई लाख १४ हजारलाई खोप लगाउने लक्ष्य रहेकामा अहिले दैनिक दुई लाख पाँच हजारलाई खोप लगाइरहेको जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर