देउखुरी, २८ असोज  । थारु समुदायले दसैँँ नवमीको दिनमा मान्यजनबाट टीकाटाला गरेर धुमधामले मनाउने गर्छन् । चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गरिन्छ । यो समुदायमा दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुमरा नाच नाच्ने गरिन्छ । यसपालि गाउँघरमा झुमरा नाच र दसैँ विशेष विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने योजना रहेको थारु अगुवा बताउँछन् ।

नवमीको दिन बिहानै कुल देवतालाई भेरवा (कुभिण्डोबाट बनाएको भेडा ) र कुखुराको बलि दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड) दिने चलन छ । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबै सदस्य बसेर खाने गर्छन् । बचेका परिकार खोला वा नदीमा सेलाउने चलन छ, त्यसलाई पितृ सेलाएको रूपमा व्याख्या गर्छन् ।

नवमी तिथि, थारू समुदायको दसैँको महत्वपूर्ण दिन हो । ब्रह्ममुहूर्तमा गरर्ढुया (घरमुली)ले गोबरले मूलद्वार पोत्छन्, चामलको पीठोको घोलले गोलो ढुर्रा बनाएर दियो बाल्छन्, कुभिण्डोको फूलले आराधना गरेर डिहुरारमा कुभिण्डोकै बलि चढाउँछन् । त्यसको अग्रभाग र बेलको हाँगा मूलद्वारमा छानामाथि राख्छन् ।

“दसैँलाई डस्या भनिन्छ, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायमा दसैँलाई उत्सवपूर्ण बनाउन प्रत्येक रात अबेरसम्म नाचिने सङ्ख्या र पैयाँ नृत्य तथा मादलको तालको प्रमुख भूमिका रहेको छ”, लमही–३ का मदन चौधरीले भन्नुभयो ।

उहाँ अगाडि थप्नुहुन्छ, “दसैँ कसरी मनाउने, दसैँको नृत्य कहिलेदेखि खुलाउनेजस्ता निर्णय गुरुवाको सहयोगमा गाउँका मटावाँ (प्रमुख व्यक्ति)ले गर्छन्, उहिले जुन गाउँको सङ्ख्या–पैयाँ नृत्यले वरपरका गाउँलेलाई आफ्नो गाउँमा ओइ¥याउन सक्थ्यो, त्यो गाउँको मटावाँको सामाजिक प्रतिष्ठा र व्यवस्थापकीय कुशलताको ख्याति फैलन्थ्यो ।”

पहिले हार्या गुरै लगत्तै मटावाँको आँगनबाट सङ्ख्या–पैयाँ नृत्य आरम्भ हुन्थ्यो । अचेल यो नाच निकै ढिलो शुरू हुन्छ । कतिपय गाउँमा सङ्ख्या–पैयाँ हुनै छाडेको छ ।

नवमीको दिन थारु युवकयुवती रातभर सखिया र झुमरा नाच नाच्ने गर्छन् । घोराही–१७ कर्जाहीका पूर्ण चौधरी भन्नुहुन्छ, “परम्परागत चाड दसैँमा अरु समुदायभन्दा थारु समुदायको फरक हुन्छ । यो नाचले दसैँको रौनकलाई अझ बढाउँछ ।” नृत्यसँगै गायनको पनि महत्व भएको सङ्ख्या धिमा तालमा कृष्ण चरित्रको वर्णन गर्दै गोलो घेरामा दुई समूहमा नाचिन्छ भने पैयाँमा मादल र नृत्यको सङ्गम हुन्छ । एकथरी पैयाँ गीती पनि हुन्छ । पहिले ३६ ख्वाट (ताल)सम्म बजाइने र नाचिने पैयाँ अहिले सात तालमा सीमित भएको छ ।

सङ्ख्या–पैयाँ नृत्य दशमी र त्यसपछिका केही दिनसम्म पनि मध्याह्नदेखि रात्रिको दोस्रो प्रहरसम्म जारी रहेर गुर्वाको सहभागितामा समापन गरिन्छ । समापनको यो प्रक्रियालाई ‘डिउटा बैठना’ भनिन्छ । विगतमा दसैँअघि र पछि गरी करीब ४५ दिनसम्म नृत्य र सङ्गीतले उत्सवमय रहने थारू गाउँ अचेल पन्ध्र दिनमै निरस हुन थालेका छन् ।

प्राय युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दसैँको गरिमासमेतलाई बढाएको हुन्छ ।

घोराही उपमहानगरपालिका–१० का थारु अगुवा निमराज चौधरी भन्नुहुन्छ, “घटस्थापनाका दिन जमरा राखिएपछि नवरात्रिभर गाउँ–गाउँमा एक्कासि ‘झ्वाङ झ्वाङ झुइँयक झ्वाङ झ्वाङ झ्वाङ’ बोलको त्रासन ताल बज्न थाल्छन् । नवरात्रि अवधिभरि नयाँ गुर्वालाई दीक्षित गरेर केसौका (शिष्य र सहायक गुर्वा) उत्पादन गरिन्छ । मध्याह्न भएपछि गरर्ढुया छिटनीमा जमरा, करैमा मदिरा, तरकारी आदि लिएर मटावाँको घरमा जम्मा हुन्छन् र बर्किमार अर्थात थारू महाभारतको श्लोक गाइन्छ । चामलको पिठोमा मुछिएको सेतो टीका र पहेँलो जमरा मान्यजनबाट लगाएर आशिर्वाद लिन्छन् ।

घोराही–६ गुरुवागाउँकी सरिता चौधरी सखिया नाच्न पाउँदा धेरै खुशी हुनुहुन्छ । उहाँले भन्नुभयो, “गत वर्ष कोरोनाका कारण नाच भएको थिएन, यसपालि नाच्ने निर्णय गरेका छाँै, नयाँ कपडा किनेर नाच्ने तयारी छ ।”

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि विशेषगरी नाचसँगै दसैँमा गाउने गरिन्छ । सखिया नाच्नका लागि १५–२० युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातो रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाएर मादल भिरेर बजाउने चलन छ । सखिया नाचमा मादलको तालसँगै तीन खण्डमा नाच्ने गरिन्छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर