ताइवान, २० असोज । ताइवानकी राष्ट्रपति साई इंग–वेनले चीनको बढ्दो आक्रामकतामाथि आफ्नो लोकतन्त्रको बचाउ गर्दै चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिएको खण्डमा यसको विनाशकारी परिणाम हुने चेतावनी दिनुभएको छ ।
उहाँले फरेन अफेयर्समा लेखेको एउटा लेखमा सो कुरा उल्लेख गर्नुभएको हो ।
हालै चीनका ३८ लडाकू विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।
मंगलबार ताइवानका प्रधानमन्त्री सु सेंग–चांगले चीनको यो आक्रामकता क्षेत्रीय शान्तिका लागि खतरा भएको र ताइवान सतर्क रहन आवश्यक भएको बताएका छन् ।
चीनको सेना पिपल्स लिबरेशन आर्मी अर्थात् पीएलएले अक्टोबर महिनाको पहिलो चार दिनमा लगभग १५० विमान ताइवानको हवाई क्षेत्रमा पठाएको थियो ।
चीनको मिडियामा यसलाई शक्ति प्रदर्शनको रुपमा हेरिएको छ तर संसारभरीका थुप्रै सरकारले यसलाई भय देखाउने र चीनको आक्रामकताको रुपमा लिएको छ ।
फरेन अफेयर्समा साई इंग–वेनले लेख्नु भएको छ, ‘हामी शान्ति चाहन्छौं तर हाम्रो लोकतन्त्र र जीवनशैलीलाई खतरा पुगे ताइवान आत्मरक्षाका लागि जे आवश्यक ठान्छ, त्यो गर्नका लागि तयार छ ।’
ताइवानले संसारभरीका देशलाई चीनको व्यापक खतरालाई बुझ्नुपर्ने बताएको छ ।
ताइवानकी राष्ट्रपति वेनले भन्नुभयो , ‘ताइवान यदि चीनको हातमा परेको खण्डमा यो क्षेत्रीय शान्तिका लागि विनासकारी हुने कुरा संसारले बुझ्न आवश्यक छ । यो लोकतान्त्रिक साझेदारीका लागि पनि विध्वंसकारी साबित हुनेछ ।’
यस्तै, ताइवानका रक्षामन्त्री चिउ कुओ–चेंगले पछिल्लो ४० वर्षमा चीन र ताइवानको सैन्य सम्बन्ध सबैभन्दा खराब स्थितिबाट गुज्रिएको बताउनुभयो । उहाँले चीनले सन् २०२५ सम्म ताइवानमाथि हमला गर्न सक्ने बताउनुभयो ।
चिउ कुओ–चेंगले भन्नुभयो, ‘चीनसँग क्षमता छ तर युद्ध यति सहज हुने छैन । थुप्रै अन्य कुरामा पनि विचार गर्नुपर्ने हुन्छ । ’
यता चीनले ताइवान आफ्नै प्रान्त भएको र यसलाई आफ्नो नियन्त्रणमा लिनका लागि आफू प्रतिबद्ध भएको बताउने गरेको छ । चीनले ताइवानलाई आफूमा सम्मिलत गर्न शक्तिको प्रयोग गर्नुपरे पनि यसबाट पछि नहट्ने बताउँदै आएको छ ।
तर साई इंग–वेन ताइवानलाई एक सम्प्रभु देश ठान्नुहुन्छ । ताइवानलाई भिन्नै रुपमा स्वतन्त्र घोषणा गर्न आवश्यक नभएको पनि उहाँ बताउँनुहुन्छ । उहाँले आफू युद्ध नचाहने बताउने गर्नुुन्छ ।
साई इंग–वेनले आफ्नो लेखमा लेख्नुभएको छ , ‘पीएलएको दैनिक घुसपेठपश्चात् पनि चीनसँग हाम्रो सम्बन्धमा परिवर्तन आएको छैन । ताइवान दबाबमा झुक्दैन । कुनै पनि दुःसाहसले हामीलाई डगमगाउन सक्दैन । ’
साईले लेख्नुभएको छ , ‘संसारभरी ताइवानको साझेदारी बढिरहेको छ । ताइवान महत्वपूर्ण लोकतन्त्र, कारोबारी साझेदार र अन्तरराष्ट्रिय आपूर्तिकर्ता हो । ताइवान उत्तरी जापानदेखि बोर्नियो द्वीपसम्म फैलिएको एउटा महत्वपूर्ण द्वीप समूह हो ।’
बीबीसी
