काठमाडौँ, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७८ , पारित गरेको छ।

सभामुख अग्नि सापकोटाले रोष्ट्रमबाट विनियोजन विधेयक पारित भएको घोषणा गरिरहँदा वेलमा उभिएका एमाले सांसदहरूले नाराबाजी गरिरहेका थिए।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गर्नुभएको थियो ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताउनुभयो ।

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । गत भदौ २५ गते प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको थियो ।

त्यसै गरी आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।

आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोक्नुभएको छ । बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिनुभएको थियो । उहाँले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरुप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुद तुल्याउन कृषि, उद्योग प्रवद्र्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताउनुभयो । यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले राख्नुभएको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न २ः०० बजे बस्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर