काठमाडौँ, २९ भदौ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका बीच प्रतिनिधिसभाको आजको बैठक बैठक प्रारम्भ हुनासाथ एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।
प्र्रतिपक्षी दलको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिनुभएको थियो ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा बोल्दै सो परियोजना पास गर्न नहुने बतानुभयो ।
सभामुखले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको छ । साथै असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।
एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई संसद् प्रवेश निषेध गर्नुपर्ने माग राखी संसद्को चालू अधिवेशन प्रारम्भ भएदेखि नै अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको नवौँ अधिवेशन यही भदौ २३ देखि शुरु भएको थियो । संसद्को गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले प्रतिनिधिसभामा सहभागी राजनीतिक दल सम्मिलित सर्वदलीय बैठक सोमबार आयोजना गर्नुभएको थियो । सो बैठकमा एमाले उपस्थित नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।
–––
