काठमाडौ, २८ भदौ । नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा जी सुमारले आर्थिक अनुदानलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा जोड दिनुभएको छ ।

उहाँले नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि समय घर्किरहेको बताउँदै चाँडै नेपालले यसबारे निर्णय लिनेमा आफू आशावादी रहेको बताउनुभयो ।

नेपालमा रहँदा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको सत्ता गठबन्धनका नेताहरूसहित प्रमुख प्रतिपक्षी दलका नेता र सरकारका वरिष्ठ अधिकारीहरूलाई भेट्नुभएको थियो ।

आफ्नो चार दिने भ्रमण सम्पन्न गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उहाँले एमसीसी अनुदान सम्झौतालाई राजनीतिक स्वार्थ प्राप्तिको माध्यम नबनाउन अनुरोध गर्नुभएको थियो ।

एमसीसी कम्प्याक्टका बारेमा नेपालले राखेका प्रश्नको जवाफ आफूहरूले पठाएको र त्यसबारे नेपाली नेतृत्वका थप जिज्ञासाहरू आफ्नो भ्रमणका क्रममा सम्बोधन गर्ने प्रयास गरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, कम्प्याक्टमा हस्ताक्षर भएको चार वर्ष भइसकेको छ। अब यसलाई अनुमोदन गर्ने बेला भयो। मलाई थाह छ धेरै बयानबाजी भइरहेका छन् र मिथ्या सूचनाहरू पनि फैलिएका छन्। यो दुर्भाग्यपूर्ण हो।

मानिसहरूलाई सही निर्णय गर्नबाट वञ्चित गर्न त्यसलाई प्रयोग गरिएको छ। मैले थप केही प्रश्न वा प्रस्ट पार्नुपर्ने विषय छन् कि भनेर पनि सोधे। हाम्रा भेटवार्ताहरूपछि सबै नेता र सांसदहरूसँग जिम्मेवार निर्णय गर्न आवश्यक सूचना उपलब्ध छ भनेर आश्वस्त छु उहाँले भन्नुभयो ।

नेपालकै इच्छा अनुसार एमसीसी अघि बढाइएको भन्दै उहाँले विगतका आठ वटा सरकारले यसको कार्यान्वयनका लागि प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।

सुमारले नेपाली नेतालाई राखेको प्रश्न
एमसीसीको संसदीय अनुमोदनको समय घर्किरहेको भन्दै सुमरले महामारीपछिको विश्वको बिग्रँदो आर्थिक अवस्थालाई ध्यान पुर्‍याएर अनुदानको सदुपयोग गरिनुपर्नेमा नेपाली नेताहरु समक्ष जोड दिनुभयो ।

उहाँले भन्नुभयो, हामी सबै एउटा विश्वव्यापी महामारीमा बाँचिरहेका छौँ। २५ वर्ष गरिबी विरुद्ध लडेर हासिल गरेका उपलब्धि हामीले २५ सातामै गुमाएका छौँ।

एमसीसी कम्प्याक्टले उपलब्ध गराउने आर्थिक विकासको अवसर महामारीका कारण यसअघि भन्दा थप सान्दर्भिक भएको र यो क्षणलाई नेपाललाई गुम्न दिन नहुने मैले मेरा प्रत्येक भेटवार्तामा जोड दिएकी छु।

आफूले भेटेका सबै नेताहरूलाई एमसीसीको अनुमोदनको काम सम्पन्न गर्नका लागि तपाईँहरूले थप कतिन्जेल कुर्नुहुन्छ भनेर प्रश्न गरेको पनि उहाँले बताउनुभयो ।
उहाँले एमसीसीको संसदीय अनुमोदनका लागि कुनै समय सीमा तोकेर आफूहरूले छलफल नगरे पनि यथाशीघ्र सम्झौता अनुमोदन हुनुपर्ने धारणा आफूले राखेको उल्लेख गर्नुभयो ।

भेटवार्ताहरूबाट आफू आशावादी रहेको भन्दै उहाँले संसद्बाट अनुमोदन भएपछि मात्रै एमसीसी कार्यान्वयनमा जाने बताउनुभयो ।

एमसीसीमा कुनै सैन्य अङ्ग नरहेको भन्दै उहाँले अमेरिकी सहायता कुनै सर्त लिएर नआउने पनि उल्लेख गर्नुभएको थियो ।

एमसीसीबारे नेपालले जस्तो सुकै निर्णय लिए पनि सात दशकदेखिको अमेरिका नेपाल सम्बन्ध निरन्तर रूपमा अघि बढ्ने सुमारले उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर