अमेरिका, २५ भदौ । अमेरिका र चीनका राष्ट्रपतिबीच सात महिनापछि पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशित गरेको एउटा विज्ञप्तिअनुसार दुई नेताले बिहीवार दुई पक्षका स्वार्थहरू मिल्ने क्षेत्रबारे बृहत् रणनीतिक छलफल गर्नुभएको थियो ।

बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सीसँग यो उहाँको दोस्रो संवाद हो।

व्यापार, गुप्तचरी र महामारीका विषयमा मतान्तर भएकाले अमेरिका चीन सम्बन्धबीच तनाव कायम छ।

यो छलफल राष्ट्रपति बाइडनले स्पष्ट पारेअनुसार अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेदारीपूर्वक व्यवस्थित गर्ने अमेरिकाको जारी प्रयासको भाग थियो, विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ।

दुई नेताहरूले प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्न दुवै देशको उत्तरदायित्वबारे छलफल गर्नुभयो ।

केही महिनाअघि बाइडन सरकार र चीनबीच भएको उच्चस्तरीय वार्तामा तनाव उत्पन्न भएको थियो। दुवै पक्षका अधिकारीहरूले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए।

चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका थिए। अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको बताएको थियो।
चीन र अमेरिकाबीच धेरै विषयमा असहमति छ।

विशाल अर्थतन्त्र भएका दुई देशबीच केही ठूला विषयमा चर्को विवाद छ। सबैभन्दा ठूलो विवाद चाहिँ मानवाधिकार र प्रजातन्त्रको विषयमा छ।

अमेरिकाले चीनबाट शिन्जियाङ प्रान्तमा उइगर मुस्लिम समुदायको नरसंहार गरेको आरोप लगाउने गरेको छ। अनि नयाँ सुरक्षा कानुन ल्याएर बेइजिङले हङ्‌कङमा प्रजातान्त्रिक अधिकारलाई दमन गर्न खोजेको अमेरिकाको भनाइ छ।

चीनले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बारम्बार चेतावनी दिएको छ। वाशिङ्टनले चीनको सत्तारूढ कम्युनिस्ट पार्टीलाई दुर्नाम गर्न खोजेको बेइजिङको आरोप छ।

व्यापारको विषयमा पनि विवाद छ। डोनल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति हुँदा सन् २०१८ देखि दुई देशबीच व्यापारयुद्ध चलिरहेको छ।

अमेरिकाले चिनियाँ सामानमा ३६० अर्ब डलरभन्दा बढी कर लगाइदिएको थियो। प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी सामानमा ११० अर्ब डलर कर लगाइदियो।

बाइडनले आफ्ना पूर्ववर्तीले चीनविरुद्ध लागु गरेका कडाइ हटाउनुभएको छैन । त्यसैले चीन अझै अमेरिकासँग असन्तुष्ट छ।

दुई देशबीच अफगानिस्तानको विषयमा पनि तनाव देखिएको छ।

केही दिनअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अमेरिकाको आलोचना गर्दै अमेरिकी सैनिकले त्यहाँ विध्वंस गरेको टिप्पणी गरेका थिए।

अमेरिकाले अफगान जनतालाई गम्भीर क्षति पुर्‍याएको उनको आरोप थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर