काठमाण्डौं, १७ भदौ । नेपाली काँग्रेसका वरिषठ नेता रामचन्द्र पौडेलले नेतृत्व चयनको सन्दर्भमा आत्माको पुकार सुनेर निर्णय लिन कार्यकर्तालाई अपील गर्नुभएको छ।
वडा अधिवेशनहरू सुरु हुनु एक दिन पहिले आज विहीबार पौडेलले एक भिडियो सन्देश मार्फत् यो अपील गर्नुभएको हो ।
भोलि १८ गतेबाट नेपाली काँग्रेसका वडाका अधिवेशन हुँदैछन् । वडा अधिवेशनहरु एकै दिन सक्ने भनिए तापनि कतिपय जिल्लाको सदस्यता विवाद नटुंगिएकोले त्यो हुन सकेन । विवाद टुंगिएका जिल्लाका अधिवेशन पनि त्यहाँको अन्य सुविधा हेरेर १/२ दिन पर सारिएको छ ।
यो बेला काँग्रेस कार्यकर्ताले तल वडादेखि माथि केन्द्रसम्मको नेतृत्व चयन गर्दछन् ।
नेता पौडेल काँग्रेसको केन्द्रिय सभापतिको स्वाभाविक रूपमा प्रथम दावेदार हुनुहुन्छ । १३ औं महाधिवेशनमा उहाँ देउवाबाट पराजित हुनुभएको थियो ।
आज भिडियो सन्दशमा पौडेलले कार्यकर्तालाई यसरी सम्बोधन गर्नुभएको छ : ‘अहिले पार्टीलाई सबल, चिन्तनशील र लोकतन्त्रका प्रति चिन्तावान् नेतृत्वको आवश्यकता छ । म सम्पूर्ण साथीहरूलाई अपिल गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरा बिर्सिएर हाम्रा अगाडि रहेका महान् लक्ष्यहरूलाई ध्यानमा राख्दै, हामीले गर्दै कठिन संघर्षलाई कसरी मूर्त रूप दिलाउने ? कसरी लोकतन्त्रलाई सस्थागत गर्ने ? कसरी यो देशको समृद्धिलाई अघि बढाउन कांग्रेसले सबल नेतृत्व हासिल गर्ने भन्ने विषयमा गम्भीर हुनका लागि, त्यहीअनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्नका लागि अपिल गर्दछु।’
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, १८ गते शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन सुरु हुँदैछन् । २७ गतेभित्र सबै जिल्लाका सबै वडा अधिवेशन गरिसक्ने तयारी छ ।
