काठमाण्डौं, १७ भदौ । दाङमा यात्रुसहितको एक कार खोलाको भेलले बगाउँदा चार जनाको मृत्यु भएको छ। कारका चालक घाइते छन्। उनको उपचार भैरहेको छ । घटना हिजो बुधवार राति ११ बजेतिरको हो ।
समाचार अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ४ को सिस्ने खोला पार गर्दा गर्दै गए राति बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको थियो। त्यसमा सबार चार जनाको मृत्यु भएको हो ।
सो घटनाबारे जानकारी दिंदै दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ बताउनुभयो, कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने त्यसका चालक गम्भीर घाइते छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षका अनुसार मृतकहरूमा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसी छन् ।
उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन्।उनीहरू नेपालगंजबाट किनमेल गरेर घर फर्कँदै गरेको बताइएको छ ।
कारका चालक घोराही १३ कै ४३ वर्षीय नरबहादुर पुन हुन् । उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ।
खोलाले बगाएकाहरूको शव झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा आज बिहान फेला पारिएको हो ।
