काठमाण्डौं, ७ भदौ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता-विवाद अझै टुंग्याउन सकेको छैन । कार्य समितिको पछिल्लो निर्देश अनुसार यही भदौ २ गते यो विवादको टुंगो लागि सक्नुपर्ने थियो । त्यो कार्यभार सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रिय सदस्य द्वय मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको थियो ।
तर उहाँहरूले आज ७ गते विहानसम्म पनि त्यो जिम्मेवारी पूरा गर्न सक्नुभएको छैन । त्यसले गर्दा स्थानिय अधिवेशनहरू समयमै गर्न सकिने हो कि हैन भन्नेमा काँग्रेस कार्यकर्तामा द्विविधा र अन्यौल उत्पन्न भएको छ ।
ढिलै भए पनि हिजो आइतबारसम्म सिटौला, रिजाल र लेखकको टोलीले विवाद समाधान गरेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिएको थियो । उहाँहरूका अनुसार विवाद समाधानको सैद्धान्तिक सूत्रमा सहमतिसमेत भैसकेको थियो । तर अन्त्यमा त्यसलाई व्याख्यासहित प्रतिवेदनमा उतार्दा पुन किचलो भयो ।
र नै, तीन नेतको यो टोलीले हिजो पनि प्रतिवेदन बुझाउन सकेन ।समस्यीया समाधानको लागि यो नेताहरूबीच आज पनि छलफल चलिरहेको छ ।
यता अब काँग्रेसको वडा अधिवेशन सुरु गर्न ११ दिन मात्र बाँकी छ । कार्य समितिले सार्वजनिक गरेको नयाँ कार्यतालिका वमोजिम भदौ १८ गते वडा अधिवेशन गर्नुपर्दछ । वडा अधिवेशनमा क्रियाशील सदस्यले भाग लिन्छन् ।
त्यसैगरी गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म सक्ने काँग्रेसको कार्ययोजना छ ।
आगामी मंसिर ९-१३ मा केन्द्रिय महाधिवेशन गर्ने संशोधित कार्य तालिका छ ।
अहिले क्रियाशील सदस्यता विवाद निश्चित समयभित्र नटुंगिएकोले कतै महाधिवेशन नै यो नयाँ मितिमा पनि नहुने हो कि भन्नेमा काँग्रेस कार्यकर्तामा चिन्ता छाएको छ । तर नेताहरूलाई भने आफ्नाहरूको मोहले छाडेको छैन ।
नेताहरूको आफ्नो पक्षको मोहकै कारण बारा, पर्सा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लामा क्रियाशील सदस्यताबारे चर्को विवद छ । न्यायपूर्ण रूपमा यो विवादको समाधान गरियोस् भन्दै संबन्धित जिल्लाका कार्यकर्ताहरू काठमाण्डौमा आएर धर्ना बसी नेताहरूलाई दवाव दिइरहेका छन् ।
संविधानत: काँग्रेसको महाधिवेशन गर्ने समय यही भदौ १९ गते समाप्त हुँदैछ । त्यसैले भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिरमा महाधिवेशन गरिसक्ने नयाँ कार्यक्रम बनाएको हो । त्यसअघि भदौ १६ देखि महाधिवेशन हुने समयतालिका थियो ।
महाधिवेशनसँग संबन्धित सुरु प्रक्रिया वडा अधिवेशन भदौ १८ बाट आरम्भ हुन नसकेमा काँग्रेसको वैधानिकतामै प्रश्न उठ्ने कानूनवेत्ताहरूको तर्क छ ।
