काठमाडौ, ४ फागुन । इजिप्टमा पुरातत्त्वविद्हरूले झन्डै ५,००० वर्ष पुरानो एउटा बीअर उत्पादन स्थल फेला पारेका छन् ।
उनीहरूका अनुसार त्यहाँ भएको कारखाना ठूलो मात्रामा बीअर उत्पादन गर्ने संसारकै सबैभन्दा पुरानो कारखाना हुनसक्छ ।

अमेरिका र इजिप्टका पुरातत्त्वविद्हरूको संयुक्त टोलीले मरुभूमिस्थित अबाइडस क्षेत्रमा सो कारखाना भेटेका हुन् । सो स्थानमा प्राचीन समाधिस्थल पनि छ ।
बीअर बनाउन अन्न र पानी मिसाउनका लागि प्रयोग भएका झन्डै ४० वटा भाँडासहित विभिन्न भागहरू पुरातत्त्वविद्हरूले भेटेका छन्।
उक्त कारखाना राजा नार्मरको शासनकालको हुनसक्ने अनुमान इजिप्टको पुरातातात्त्विक निकायको छ ।
अबाइडसमा फेला परेको स्थानमा ठूलो मात्रामा बीअर उत्पादन हुने संसारकै सबैभन्दा पुरानो कारखाना भएको उसले जनाएको छ ।
राजा नार्मरले ५,००० वर्षभन्दा अघि शासन गरेका थिए ।
उनको राजवंशले इजिप्टलाई एकीकरण गरेको विश्वास गरिन्छ ।
के छ बीअर कारखानाको विशेषता
उक्त कारखानामा आठवटा ठूला भाग छन् । प्रत्येक भागको लम्बाइ २० मिटर छ ।

यो स्थानमा हजारौँ लिटर बीअर उत्पादन हुने गरेको अनुमान छ
प्रत्येकमा ४० वटा माटोका भाँडाहरू दुई लहरमा मिलाएर राखिएको इजिप्टको पुरातात्त्विक परिषद्का महासचिव मोस्तफा वाजिरीले बताउनुभयो ।
अन्न र पानीलाई ती भाँडाहरूमा राखेर तताउँदा तिनको पीँधलाई माटोको उत्तोलकमा राखिने गरेको उहाँले बताउनुभयो ।
केका लागि धेरै परिणाममा बीअर
त्यहाँ एक पटकमा २२,४०० लिटर बीअर उत्पादन गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
राजाहरूको अन्तिम संस्कारका लागि गरिने कर्मकाण्डका लागि आवश्यक मदिरा उपलब्ध बनाउन यो स्थानमा बीअर उत्पादन कारखाना बनाइएको हुन सक्ने अनुमान पुरातत्त्वविद् तथा खोज अभियानका सहप्रमुख म्याथ्यू एडम्सले गर्नुभएको छ ।
उहाँ न्यूयोर्क यूनिभर्सिटीसँग आबद्ध हुनुहुन्छ । इजिप्टको पर्यटन मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा एडम्सको भनार्इ उद्धृत गरिएको छ ।
ती स्थानमा उत्खनन गर्दा परम्परागत विधिविधानमा बीअर प्रयोगको प्रमाण फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिणी इजिप्टमा पर्ने अबाइडस एउटा प्राचीनतम नगर हो ।
त्यहाँ धेरै मन्दिर र चिहानहरू छन् ।
दुई साताअघि एलेक्जेन्ड्रियामा सुनको जिब्रो भएका २,००० वर्ष पुराना ममीहरू फेला परेको थियो । बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर