चेन्नाई, ४ फागुन । भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।
पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए । जितका लागि चारसय ८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको थियो ।भारतले आफ्नो पहिलो पारीमा ३२९ रन तथा इङ्ल्याण्डले आफ्नो पारीमा १३४ रन बनाएको थियो । भारतले दोस्रो पारीमा २८६ रन बनाएको थियो ।
अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुबै इनिङमा गरी आठ विकेट लिएका थिए । उनले व्यक्तिगत १०६ रन पनि बनाएर भारतीय इनिङलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए
अब तेस्रो टेस्ट फेब्रुअरी २४ देखि अहमदाबादको मोटेरा स्टेडियमा खेलिनेछ । चेन्नईमा खेलिएको पहिलो टेस्टमा भारतमा हारको सामना गर्नुपरेको थियो । उक्त खेलमा भारत २२७ रनले पराजित भएको थियो ।