काठमाण्डौं, ३ भदौ । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य हिजो भदौ २ गते नियुक्त हुनु भएको छ ।
डोरमणि पौडेलले हिजो संसदीय दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य सो पदमा नियुक्त हुनुभएको हो । यसअघि उहाँलाई एमालेको वाग्मती प्रदेश संसदीय दलको हिजै बसेको बैठकले दलको नेता चुनेको थियो ।
शाक्यले हिजै बुधबार अवेर साँझ पद तथा गोपनियताको सपथ लिनुभयो । उहाँले अन्य दुइ जनालाई मन्त्री बनाउनु भएको छ ।
उहाँसँगै कृष्ण खनाल र केशवराज पाण्डे मन्त्री नियुक्त हुनुभएको हो । खनाललाई सो प्रदेशको सामाजिक विकास र पाण्डेलाई आन्तरिक मामिला तथा कानून अनि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यो नियुक्तिसँगै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने पहिलो महिला हुनुभएको छ ।
नव नियुक्त मुख्यमन्त्री शाक्य २०७४ सालमा भएको दलको नेताको चुनावमा डोरमणि पौडेलसँग पराजित हुनुभएको थियो । तर यसपटक पौडेलले राजिनामा दिएर उहाँको लागि मुख्यमन्त्री पदको मार्ग खुला गरिदिनु भयो र शाक्य निर्विरोध नेता चयन हुनुभयो ।
शाक्य केही दिन अघिसम्म एमालेभित्रको गुटमा नेपाल-खनाल पक्षीय भएर मुखरित हुनुभएको थियो । केपी ओलीको उग्र आलोचक भएर देखिनु भएकी उहाँ यतिवेला अकस्मात् ओलीकै सहयोग र आशीर्वादमा मुख्यमन्त्री बन्न पुग्नुभएको छ भने एमाले फुटेर माधवकुमार नेपालको अध्यक्षतामा अर्को एमाले हिजै गठन भएको छ ।
बागमतीमा कुल ११० सांसद छन् । पार्टी फुट्दाको असर त्यहाँ नपरेमा एमाले सहज बहुमतमा छ । सरकार बनाउन ५६ सांसद संख्या चाहिन्छ ।
केन्द्रिय सत्तासाझेदार दल काँग्रेस र माओवादीसँग मात्रै बाग्मतीमा ४५ सांसद छन् । त्यस्तै, त्यहाँ विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।
अब माधवकुमार नेपालको नयाँ दल नेकपा एमाले समाजवादीमा ओलीको एमाले कित्ताबाट कति जना जान्छन्, त्यसैमा नवनियुक्त मुख्यमन्त्री शाक्यको पदायु निर्धारण हुन्छ ।
