काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरु मध्ये सबैभन्दा धेरै ६० वर्ष भन्दा माथिका नागरिक रहेको जनाएको छ ।
मन्त्तालयका अनुसार अहिलेसम्म ६० वर्षदेखि माथिको उमेर समूहका ५४१३ जना ज्येष्ठ नागरिकले ज्यान गुमाएका छन् भने उमेर नखुलेका ७ जना रहेका छन् ।
मन्त्रालयद्वारा सर्वाजनिक तथ्याङ्कअनुसार कोरोना महामारी शुरु भए यता हालसम्म ०–९ वर्ष उमेर समूहका ४५ जना, १० देखि १९ वर्ष उमेर समूहका ५० जना बालबालिका र २० देखि २९ वर्ष उमेर समूहका ३१० जना किशोरकिशोरीले ज्यान गुमाउनु परेको छ ।
त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका ८३३ जना, ४० देखि ४९ वर्ष उमेर समूहका १४४९ जना र ५० देखि ५९ वर्ष उमेर समूहका १९८६ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा २०७७ जेठ ३ गतेदेखि अहिलेसम्म १०० ९३ जना नागरिकले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरसले विश्वमा ४३ लाख सात हजार ५३६ जनाको ज्यान लिइसकेको छ । कोभिडबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका रहेको छ भने ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।
अमेरिकामा हालसम्म ६ लाख ३३ हजार ११६ जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा ५ लाख ६३ हजार ४७० जनाले र भारतमा ४ लाख २८ हजार ३३९ जनाले ज्यान गुमाइसकेका छन् । तर, सङ्क्रमितको अवस्था हेर्ने हो भो भारत दोस्रो र ब्राजित तेस्रो स्थानमा छ ।
