काभ्रेपलाञ्चोक, १ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ । जिल्ला कार्यान्वयन एकाईले गत पुस १५ गतेभित्र आवास निर्माण सम्झौता गरी पहिलो किस्ता रकम नलिएका पाँच हजार ३७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाउन पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा सिफारिस गर्ने भएको हो ।
प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्पपीडितले गत पुस १५ गतेभित्र पहिलो किस्ता अनुदान रकम बुझ्नु पर्ने अन्तिम सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र पहिलो आवास अनुदान रकम नलिएकाकालाई लाभग्राही सूचीबाट हटाउन लागिएको धुलिखेलस्थित कार्यालयका निमित्त प्रमुख रामप्रसाद ख्याजूले जानकारी दिनुभयो । उहाँका अनुसार लाभग्राहीमा सूचीकृत भएका तर तोकिएको समयसीमाभित्र अनुदान रकम नलिएका लाभग्राहीहरु हट्ने भएका हुन् ।
उहाँले भन्नुभयो, “प्राधिकरणबाट आवास पुनःनिर्माण सम्झौता नगर्नेको नाम पठाउन प्रक्रिया थालेका छौँ, सोही अनुसार सूची तयार भैसकेको छ ।” जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गरी पूर्वाधार कार्यालयले आवास पुनःनिर्माण सम्झौता नगर्नेको नाम निर्णय गरी प्राधिकरणको केन्द्रीय कार्यालय पठाउने जनाएको छ ।
प्राधिकरणले यसअघि सम्झौता भएका भूकम्पपीडितले पुस १५ गतेभित्र सम्झौता गरी आवास पुनःनिर्माणको प्रथम किस्तावापतको रु ५० हजार लैजानु पर्ने समयसीमा तोकेको थियो । हालसम्म आवास पुनःनिर्माणमा सूचीकृत भएका जिल्लाका ८४ हजार ६९० भूकम्पपीडित परिवारमध्ये पाँच हजार ३७२ सम्पर्कमा आएका छैनन् । विभिन्न चरणको गुनासोपछि लाभग्राहीमा सूचीकृत तथा पहिलो चरणमा सम्झौता गरेकासमेत सम्पर्कमा नआएको पूर्वाधार कार्यालयले जनाएको छ ।