काठमाडौँ, ३० माघ  । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्।

सन्दीपसहित ८ खेलाडीले नेपालबाट अक्सनका लागि नाम दर्ता गराए पनि १४औं संस्करणको आइपीएलका लागि हुने अक्सन सूचीमा सन्दीपको नाम मात्र परेको बिसिसिआईले जनाएको छ। क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए ।

आगामी १८ फेब्रुअरीमा हुने आइपीएल अक्सनमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गर्दै बीसीसीआईले यसमा नेपालबाट सन्दीप मात्र अटाएको जानकारी दिएको हो। जसमा सन्दीपले आफ्नो मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका छन्।

दिल्ली क्यापिटल्सले सन्दीपलाई यस सिजन रिलिज गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना हुने छ ।

कूल १ हजार ९७ खेलाडीले नाम दर्ता गराए पनि सहभागि फ्रेन्चाइजले आफ्नो सूची बनाएपछि अक्सनमा २९२ खेलाडी मात्र समावेश हुने भएका छन्। भारतका १६४ र ओभरसिज १२५ खेलाडी अक्सनमा सहभागी हुनेछन्।

एसोसिएटबाट नेपालका सन्दीपसहित ३ खेलाडी छन्। जसमा अमेरिकाका अली खान र युएईका कार्तिक मेइयाप्पन लिस्टमा अटाएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर