तेहरान, २९ कात्तिक । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६.३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए ।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ ।

इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छवटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

गार्डले होर्मुज जलडमरूमध्य बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ ।

इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ ।

युद्धका क्रममा इरानले होर्मुज जलडमरूमध्यबाट हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ ।

बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ । यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो ।

अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो ।

खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ । एएफपी

 

प्रतिक्रिया

सम्बन्धित खवर