काठमाडौँ, २९ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बादल लाग्नेछ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

महाशाखाले सम्भावित वर्षा, हिमपात, चट्याङ र असिनाको जोखिमलाई ध्यानमा राखी सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर