गण्डकी, २७ कात्तिक : जिल्ला समन्वय समिति, कास्कीले नेपाल ट्रस्टको स्वामीत्वमा रहेको पोखराको रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा नदिन आग्रह गरेको छ । आज बसेको समितिको ५४औँ बैठकले ऐतिहासिक महत्वको उक्त जग्गा लिजमा नदिन नेपाल ट्रस्टलाई आग्रह गर्ने निर्णय गरेको जिसस प्रमुख लीलाधर पौडेलले बताउनुभयो ।
ट्रस्टले केही समयअघि रत्न मन्दिर, हिमागृह र बाराहीघाटलगायत ठाउँमा आफ्नो स्वामीत्वमा रहेको जग्गा व्यावसायिक प्रयोजनका लागि ३० वर्षलाई लिजमा दिने योजना सार्वजनिक गरेको थियो । जिसस प्रमुख पौडेलले जिल्लाभित्र रहेको सरकारी तथा सार्वजनिक जग्गासँगै ऐतिहासिक, प्राकृतिक, पुरातात्विक र सांस्कृति सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
उहाँले रत्न मन्दिर र हिमागृह जस्ता ऐतिहासिक महत्वका स्थललाई व्यावसायिक प्रयोजनमा लगाउन नहुने बताउनुभयो । बाराहीघाट, रत्न मन्दिर र हिमागृहको केही जग्गा फेवातालको मापदण्डभित्रसमेत पर्ने हुनाले लिजमा दिन नमिल्ने उहाँले बताउनुभयो । बैठकले ऐतिहासिक महत्त्वका जग्गा र सम्पदास्थलको यथोचित संरक्षण र व्यवस्थापन गर्न तीनै तहका सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नेपाल ट्रस्टले पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट, रत्न मन्दिर र हिमागृह परिसरको जग्गामा व्यावसायिक कम्प्लेक्स, होटल, रेष्टुराँ, मनोरञ्जन केन्द्रलगायत व्यावसायिक संरचना निर्माणका लागि लिजमा दिने प्रस्ताव ल्याएको छ । पोखरा महानगरपालिका, पोखरामा क्रियाशील पर्यटन सम्बद्ध सङ्घसंस्था, संरक्षणकर्मीलगायतले पनि उक्त क्षेत्रको जग्गालाई व्यावसायिक प्रयोजनका लागि लिजमा दिन नहुने बताउँदै आएका छन् ।
—
