विराटनगर, १० असोज : कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने भएको छ ।

कोशी प्रदेश सरकारको आयोजनामा हुने सो सम्मेलनमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय, सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण, प्रदेश सरकार गठन तथा सञ्चालनका क्रममा भएका असल अभ्याससहित अनुभवको आदानप्रदान, प्रदेशस्तरीय एवं तीन तहका सरकारबीचको समन्वय एवं सहकार्य, सुशासन र आर्थिक समृद्धिलगायतका विषयमा छलफल केन्द्रित हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहने विराटनगर सम्मेलनलाई व्यवस्थित एवं सफल बनाउन आवश्यक पूर्व तयारीको काम सुरु भइसकेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सडक तथा पुल निर्माण, उद्योग एवं पर्यटन प्रवर्दनसहित आर्थिक गतिविधिलाई चलायमान बनाउन र प्रदेशस्तरीय सम्बन्ध अझ सुदृढ तुल्याउन मुख्यमन्त्री सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले असोज २२ र २३ गते आयोजना हुने मुख्यमन्त्री सम्मेलनमा प्रदेशमन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता र उच्च सरकारी अधिकारीहरूको समेतको उपस्थिति रहने जानकारी दिँदै सङ्घीयता कार्यान्वयनसहित राजनीतिक, आर्थिक, सामाजिक, विकास निर्माण, कानुनी, व्यावहारिक पक्षमा छलफल भई स्पष्ट दिशानिर्दश गर्न सम्मेलन सफल हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर