लमजुङ, २६ भदौ । लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि ती पुलबाट सवारीसाधन सञ्चालन गर्न जोखिम रहन्छ ।
डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एउटा काठे पुल छ । अस्थायी प्रकृतिका यस्ता पुलबाट सवारीसाधन सञ्चालन गर्न समस्या हुने गरेको छ । समस्या समाधानका लागि यस सडकखण्डमा १५ पक्की पुल निर्माणको माग गरिएको थियो ।
“पर्याप्त बजेट अभावमा पक्की पुल निर्माण हुन सकेन”, सूचना अधिकारी विष्टले भने, “पुल निर्माणका लागि आवश्यक डिजाइन तयार पारिएको छ, बजेट आइहाले पनि न्यून आउँछ, त्यसले पुल निर्माणको काम अघि बढाउन सम्भव हुँदैन । यस वर्ष पुलका लागि बजेट नै आएको छैन ।”
सूचना अधिकारी विष्टका अनुसार सडकखण्डमा कतिपय स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ । मनाङलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले बेँसीसहर–चामे सडक २०५१ सालदेखि निर्माण सुरु भएको थियो । सशस्त्र द्वन्द्वका कारण निर्माण कार्य प्रभावित भएपछि नेपाली सेना २०५७ सालदेखि सडक निर्माणमा सहभागी भएको थियो । सेनाले ६५ किलोमिटर सडक निर्माण गरी २०६९ सालमा सडक विभागलाई हस्तान्तरण गरेको थियो । सडकको ३५ किलोमिटर क्षेत्र लमजुङ र ३० किलोमिटर मनाङतर्फ पर्छ ।
“कतिपय स्थानमा बेलिब्रिज तथा पक्की पुल बने पनि बाढीपहिरोबाट क्षति पुगेपछि अस्थायी काठे पुल राख्नुपर्ने अवस्था आएको हो”, सूचना अधिकारी विष्टले भने ।
विसं २०८० असारमा चामे गाउँपालिका–१ तिमाङ खोलाको काठे पुल र चामे–२ स्थित स्यार्कु खोलाको काठे पुल जीर्ण भएर भाँचिएपछि बेँसीसहर–चामे सडक दुई दिन अवरुद्ध भएको थियो । दुवै पुलमा पुराना काठ हटाएर नयाँ राख्नुपरेको थियो । विसं २०७८ मा पनि तिमाङ छहरामा काठे पुल जीर्ण भएपछि त्यसलाई विस्थापन गर्न स्ल्याब कल्भर्ट निर्माणका लागि १५ दिनसम्म सडक बन्द गर्नुपरेको थियो ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार गाउँपालिकाभित्रै चामे बजार बीचमा दुई स्थानमा काठे पुल छन् । काठे पुलमा ठूला सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको उनले बताए। “हरेक वर्ष मर्मत गर्दै आएका छौँ,” उनले भने। काठे पुलका कारण सडक अवरुद्ध हुँदा मनाङवासीले आवतजावतदेखि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानीसम्म समस्या भोग्नुपर्ने अध्यक्ष घलेले बताए ।
