कञ्चनपुर, १ भदौ । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहानदेखि महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको हो ।
उनले बिहान ९ः०० बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १४ हजार क्युसेक पुगेको जानकारी दिए । शारदा ब्यारेजमा भारतीय पक्षले पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ ।
