जनकपुरधाम, १४ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जनकपुरधाममा आज बिहानैदेखि प्रदर्शनकारी सक्रिय भएपछि जिप्रकार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै दिउँसो ३.३० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जनाएका छन् ।

उनका अनुसार जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयका आधारमा कर्फ्यु लागू गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश अनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा तथा घेराउ गर्न पाउने छैनन्। प्रशासनले आदेशको उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

कर्फ्यु आदेश लागू गरिएका क्षेत्रमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यु.स्टिल क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाको नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्र समेटिएका छन्।

प्रशासनले सर्वसाधारण नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा जिल्लाको शान्ति(सुरक्षा कायम राख्न आवश्यक सहयोग पुर्‍याउन आग्रहसमेत गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर