गलकोट (बागलुङ), १६ जेठ : सरकारले बहुप्रतिक्षित बागलुङको उत्तरगङ्गा जलाशययुक्त परियोजनासहित पाँच वटा जलविद्युत् आयोजनालाई ठेक्कामा लैजाने भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि ल्याएको बजेट वक्तव्यमा सरकारले बागलुङको उत्तरगङ्गा जलाशययुक्त ८२८ मेगावाट परियोजना ठेक्कामा लैजाने उल्लेख गरेको हो ।

सरकारले रु २१ खर्ब २४ अर्ब बजेट सार्वजनिक गर्दै ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रु ८५ अर्ब ५४ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिनुभयो । उहाँले शुक्रबार सार्वजनिक गर्नुभएको बजेटमा मुलुकको सस्तो नमूना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनासहित पाँच वटा ठूला जलविद्युत् आयोजनाको बजेट व्यवस्थापनसहित ठेक्कामा लैजाने बताउनुभयो ।

सरकारले ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त आयोजनासहित एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुरसेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्ने जनाएको छ । ४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुण–४ र २८१ मेगावाटको नौमुरै आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने अर्थमन्त्रीले बताउनुभयो ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानीमा ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो । उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भइसकेको छ । करिब २२ वर्षअघिदेखि चर्चामा रहेको आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले २०८० सालमा स्वीकृत गरेको हो ।

बागलुङमा निर्माण अघि बढेको आयोजना विसं २०६१ देखि चर्चामा रहेको छ । यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगङ्गा हाइड्रोपावर कम्पनी लिमिटेडले अघि बढाउँदै आएको थियो ।

प्रतिमेगावाट लागतका दरले नेपालको सबभन्दा सस्तो उक्त जलाशय आयोजनाको इआइए स्वीकृत भएको आयोजना ठेक्कामा लाग्ने बागलुङ क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद शोम शर्माले जानकारी दिनुभयो । उहाँले बागलुङको २ नं क्षेत्रमा रहेको आयोजनामा रकम व्यवस्थापनसहित ठेक्कामा लैजाने गरी बजेट वक्तव्य आएको बताउनुभयो ।

निर्माण सुरु भएको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनामा ढोरपाटन उपत्यकामा उत्तरगङ्गाको पानी जम्मा गरेर निसीखोलामा झारेर बाह्ैमहिना विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको थियो । ढोरपाटनको उत्तरगङ्गा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनबाट निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।

आयोजनामा आठ हजार ५१० मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने एक हजार ८७५ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । आयोजनामा दुई वटा भूमिगत विद्युत्गृह निर्माण हुनेछन् । पहिलो विद्युत् गृहमा १०५ मेगावाट क्षमताका चार वटा युनिट रहने छन् भने दोस्रो विद्युत्गृहमा १०१ मेगावाट क्षमताका चार वटा युनिट निर्माण हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर