काठमाडौँ, १० जेठ । बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्नुभएको छ ।

बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराउनुभएको थियो ।

मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गर्नुभएको छ । मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो । मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आउनुभएको थियो । शनिबार उहाँले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर