काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठक सुरुहुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गर्नुभयो ।
यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिनुभयो । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सभामुख अर्यालले अध्यक्ष राईको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीका सांसदसँग आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । सो दलका सदस्यहरूले सरकारको जवाफदेहिताको माग गर्दै सदनमा बुधबार ‘प्ले कार्ड’ समेत प्रदर्शन गरेको थियो ।
