सियोल, २१ वैशाख । लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको उत्तर कोरिया र दक्षिण कोरियाबीच खेलकुदमार्फत देखिने दुर्लभ सम्पर्क फेरि एकपटक देखिने भएको छ । यसै सन्दर्भमा उत्तर कोरियाको एक महिला फुटबल टोलीले यही महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारी भएको जनाइएको छ ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार प्योङयाङस्थित नेगोयाङ महिला एफसीले मे २० मा सुवोनमा आयोजना हुने एसियाली फुटबल कन्फेडेरेसन (एएफसी)महिला च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा सुवोन एफसी महिलासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । मन्त्रालयले एएफसीले दक्षिण कोरियाली फुटबल निकायलाई उक्त टोलीको सहभागिता पुष्टि भएको जानकारी गराएको उल्लेख गरेको छ । तर, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरूले भने यस यात्राबारे कुनै औपचारिक समाचार सार्वजनिक गरेका छैनन् ।
दुई देशबीच खेलकुद आदानप्रदान अत्यन्तै सीमित रहँदै आएको अवस्थामा यो सहभागिता विशेष महत्त्वको मानिएको छ । यसअघि उत्तर कोरियाले सन् २०१८ डिसेम्बरमा टेबल टेनिस प्रतियोगिताका लागि आफ्ना खेलाडीहरू दक्षिण कोरिया पठाएको थियो । त्यही वर्ष दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिकमा उत्तर कोरियाली खेलाडीहरूको सहभागिताले केही समयका लागि कूटनीतिक सम्बन्धमा सकारात्मक सङ्केत देखिएको थियो ।
त्यसअघि सन् २०१४ मा इन्चियनमा सम्पन्न एसियाली खेलकुदमा पनि उत्तर कोरियाको राष्ट्रिय महिला फुटबल टोलीले भाग लिएको थियो, जुन दक्षिण कोरियामा उनीहरूको पछिल्लो प्रतिस्पर्धा थियो । त्यसपछि भने दुवै पक्षबीचको सम्बन्ध पुनः चिसिँदै गएको थियो ।
विशेषगरी सन् २०१९ यता उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँगको अर्थपूर्ण कूटनीतिक संवाद स्थगित गर्दै आएका छन् । साथै, आफ्नै देशभित्र दक्षिण कोरियाली संस्कृति र भाषाको प्रभाव न्यूनीकरण गर्ने अभियानलाई पनि तीव्र बनाउँदै आएका छन् ।
यस्तो पृष्ठभूमिमा हुन लागेको यो खेल सहभागितालाई केवल खेलकुद मात्र नभई सम्भावित संवादको सानो झिल्कोका रूपमा पनि हेरिएको छ । एपी
