काठमाडौं, २ असार । अविरल वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले दिएको जानकारीअनुसार मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
मंगलबार परेको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची नदीमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ।
साथै हेलम्बुमा माछा फर्मसँगै बाढीले केही मानिस बगाएको हुन सक्ने र उनीहरु सम्पर्कमा नआएको सिन्धुपालचोकका प्रमुख जिल्लाअधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्।
