काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउनुभएको छ ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरीदलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
“अनुदानमा ल्याएरमात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरीदलाई प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो । फाउण्डेशनकी केन्द्रीय अध्यक्षसमेत रहनुभएका नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।
फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेशनले समसाययिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताउनुभयो । गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेशनले हालसम्म विभिन्न विषयमा ३७औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ ।
फाउण्डेशन अमेरिका शाखाका प्रवक्ता रामचन्द्र अधिकारीले कोरोनाबाट पीडित व्यक्तिलाई अमेरिका शाखाले शुरुआती दिनदेखि नै सहयोग गर्दै आएको बताउनुभयो । हालसम्म अमेरिका शाखाले ५५ हजार प्याकेट खाना, दूध, माक्स र स्यानिटाइजर सहयोग गरेको उहाँको भनाइ थियो ।
