धुलिखेल, २२ माघ । जिल्लाको महाभारत गाउँपालिकाले यहाँका ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ ।
आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ रु’ भन्ने कार्यक्रमअन्तर्गत आजदेखि बुधबारदेखि अभियान सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नं ६ बनखुको मगर गाउँमा रहेको बनखु मगरगाउँ स्वास्थ्य चौकीबाट अभियानको शुभारम्भ गर्दै आगामी २८ गतेसम्म ४१ वटा केन्द्रबाट समुदायस्तरमा स्वास्थ्य परीक्षण एवं स्वास्थ्य शिक्षा परामर्श सेवा सञ्चालन गरिने बताउनुभयो । “समुदायमा लुकेर रहेका र स्वास्थ्य उपचारको दायरामा नआएका उच्च रक्तचाप र मधुमेहका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “त्यससँगै मिर्गौलामा देखिएको समस्या समयमा नै पहिचान गरी उपचारका लागि प्रेषण गर्ने र स्वस्थ्यकर खानपान तथा नसर्ने रोगबारे जनचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।”
हाल यहाँका नागरिकको उच्च रक्तचापको नियमित परीक्षण गरी समस्या देखिएका व्यक्तिहरुले औषधि सेवन गरिरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले बताउनुभयो । उहाँका अनुसार १६ जना सुगरका बिरामी नियमित उपचारमा छन् । परीक्षणमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको कार्य परीक्षण र शरीरको उचाइअनुसार तौल अनुपातको परीक्षण सेवाहरु दिइरहेको उहाँले बताउनुभयो ।
बनखु स्वास्थ्य चौकीमा भएको परीक्षणको पहिलो दिन १४१ जनाले सेवा लिएका छन् । यस्तै, नसर्ने रोगका कारण व्यक्ति, परिवार, समाज र राज्यको ठूलो रकम खर्च भइरहेकाले रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने ध्येयले पालिकाले स्वास्थ्य परीक्षण सेवालाई नियमित बनाउन परामर्श सेवासमेत दिइरहेको छ ।
निःशुल्क स्वास्थ्य परीक्षणअन्तर्गत गत आर्थिक वर्ष २०८१र८२ मा एक हजार ९०७ जनामा नसर्ने रोगको परीक्षण गरिएको थियो । तीमध्ये १४१ जनाले नसर्ने रोगको औषधि सेवन गरिरहेको र गाउँपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।
