काठमाडौँ, १० कात्तिकः नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ ।
महासङ्घले ती घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरुबाट गुनासो आइरहेकाले यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
महासङ्घले यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पु-याएको विज्ञप्तिमार्फत जनाएको छ ।
“यसले रोजगारी सिर्जना, राजस्व सङ्कलन, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन असर पार्ने छ”, जारी विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासङ्घको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ ।
यसबारे औपचारिक आग्रह गर्दैै महासङ्घले गृहमन्त्रालयमा पत्राचार समेत गरिसकेको छ । सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्याङ्कन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासङ्घले समितिमा आफ्नो र सदस्य सङ्घहरुको सहभागिताका लागि आग्रह गरेको हो ।
महासङ्घका पदाधिकारी, स्थायी समिति तथा समिति÷फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति सुरक्षा नभई स्थायित्व नहुने, स्थायित्व नभई उद्यम व्यवसाय सञ्चालन हुन नसक्ने र उद्यम व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य शर्त भएको बताउनुभयो ।
